हेटौंडा | हेटौंडा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अभि मैनाली विजयी भएका छन् ।
आइतबार भएको निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियू, अनेरास्ववियु क्रान्तिकारी विप्लव गठबन्धनको प्यानलै विजयी भएको हो ।
सभापतिमा विजयी मैनालीले २ सय ९० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेविसंघका राजिब फुयालले १ सय ८५ मत प्राप्त गर्दै पराजय व्यहोर्नु परेको छ ।
सचिवमा अनेरास्ववियु प्यानलकै अन्जान खड्काले २ सय ७२ मत ल्याउँदै विजयी भएका छन् । उनीसँगै सचिवका अर्का प्रतिस्पर्धी नेविसंघका युवराज विकले १ सय ९४ मत प्राप्त गरे।
त्यसैगरी कोषध्यक्षमा अनेरास्ववियुकी अविना थापाले २ सय ७० मत ल्याएर विजयी भइन् । कोषाध्यक्ष पदको अर्की उम्मेदवार ज्योती पुडासैनीले भने १ सय ९६ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यहरुमा अनेरास्ववियुबाट तिलक बहादुर पाख्रीन, गणेश तिमल्सिना, नविन कुमार चौधरी, भरतमोहन देबकोटा र रन्जिता फुँयाल विजयी भएका छन् ।
मकवानपुर जिल्लाका ८ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसले प्यानल बनाएका थिए ।
यो प्यानलले निर्वाचनको माध्यमबाट मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौंडामा स्ववियु नेतृत्व लिन सफल भएको छ ।
थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ यसअघि नै सर्वसम्मत अध्यक्ष भएका थिए ।
एमाले निकट अनेरास्ववियुको प्यानलमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लवको अखिल (क्रान्तिकारी) थिए ।
मकवानपुरका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पसमा छोइसाङ लामा तामाङ, जनप्रिय बहुमुखी क्याम्पस, हटियामा अखिल (क्रान्तिकारी) विप्लवकी मुना गोले, मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल र वनविज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कंडेल अध्यक्षमा निर्वाचित भएका छन् ।