मकवानपुर | हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ को घरदैलो स्वास्थ्य शिविरमा ७ सय ९० ले सेवा लिएका छन् ।
शुक्रबार हेटौंडा-६ स्थित हेटौंडा स्वास्थ्य चौकीका प्रमुख तोयानाथ ढुंगेलले पत्रकार सम्मेलन गरि जनता घरदैलो कार्यक्रमको प्रगती विवरण सार्वजनिक गरेका हुन् ।
जनता स्वास्थ्य घरदौलो कार्यक्रम मार्फत ‘जनताको मृगौला जोगाऔं’ अभियान चलाउँदै चैत्र १३ गतेदेखी १६ गतेसम्म हेटौंडा-६ को २३ टोलहरुमा स्वास्थ्य शिविर चलाइएको थियो ।
हेटौंडामा सम्भवत पहिलो पटक वडा कार्यालयको नेतृत्वमा जनताको घरघरमै पुगी स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख ढुंगेल बताउँछन् ।
उनका अनुसार शिविरमा महिलाहरुको सहभागिता उल्लेख्नीय थियो। कुल ७ सय ९० सहभागि शिविरमा ५ सय २७ महिला रहेको उनले बताए ।
शिविरमा प्रोटिन, पिएच र ग्लूकोजको परिक्षण गरिएको थियो । जसमध्ये प्रोटिनमा ८५ जनालाई सामान्य समस्या , २३ जनालाई न्यून समस्या, ७ जनालाई केही समस्या र ४ जनालाई मध्यम समस्या देखिएको छ । त्यसैगरी पिएच टेस्मा ४ जनालाई सामान्य समस्या , ८ जनालाई न्यून समस्या, ३ जनालाई केही समस्या देखिएको छ । ग्लूकोज टेस्टमा भने २२ जनलाई सामान्य, ७ लाई न्यून, १५ लाई केही र २० लाई मध्यम समस्या देखिएको स्वास्थ्य चौकीबाट जानकारी प्राप्त भयो ।
साथै स्वास्थ्य चौकी प्रमुख ढुंगेलले हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त कायम गर्न यस चौकीले स्वास्थ्य तर्फको ८ वटा सुचकहरु पूरा गरिसकेको बताए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु दाहालले अगामी दिनहरुमा पनि वडाबाट स्वास्थ्य क्षेत्रको लागि कार्यक्रमको प्रभावकारितालाई ध्यानमा राखी थप बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्यद्वय विजय पौडेल, लेखराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’, रानी सामुदायिक वन उपभोक्ता समूहका सचिव भीमसेन पौडेल, स्थानिय प्रदीप ढुंगानालगायतको उपस्थिति रहेको थियो ।