वामपन्थी एकताको नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण अनुचित: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको नाममा राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण अनुचित रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार सुरु भएको पार्टीको प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कुनै पनि विचार या शक्तिलाई निषेध गर्ने गरी वामपन्थी एकता या समाजवादी ध्रुव निर्माण गर्नु व्यवहारिक नहुने बताएका हुन् ।

‘मुख्य प्रश्नहरुमा न्यूनतम समझदारीको खाँचो छ, अनि विचार मिल्नेहरु माझ सहकार्य आवश्यक छ । त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

अहिलेको सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरु क्रमशः एक ठाउँमा हुन सक्ने भन्दै उनले भने, ‘तर आजका दिनमा भने सबै सकारात्मक शक्तिहरुलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सम्मिलित नयाँ सत्ता सहकार्य सुरु भएपछि मुुलुकको राजनीति एक हदसम्म अनुकुल बनेको ओलीले बताएका छन् ।

यसले राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि स्थापित भएको भन्दै उनले नयाँ सरकार बनेपछि केही सकारात्मक थालनी भएको पनि बताएका छन् ।

विगतमा घटनाका कारण अहिले पनि सत्ता सहकार्यप्रति आशंका रहेको भन्दै ओलीले तयसको खण्डन व्यवहारबाटै गर्नुपर्ने बताए । ‘विगतका कतिपय घटना, सन्दर्भ र अनुभवका आधारमा जनताको मनमा यस सहकार्यको दिगोपनमाथि आशंका छन् । यसको खण्डन कुनै औपचारिक मन्तव्य वा वक्तव्यबाट होइन, व्यवहारबाटै गरिनेछ’, ओलीले प्रतिवेदनमा भनेका छन् ।

(अनलाइनखबरबाट)