उद्योग मन्त्री श्रेष्ठको व्यवस्थापन कार्यालयलाई निर्देशन: उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्नुस्

बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित सबै उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् ।

मंगलबार औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।

उद्योग मन्त्री श्रेष्ठले सबै उद्योगहरुको प्रतिवेदन संकलन गरेर राख्न हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँरलाई निर्देशन दिएका हुन् । साथै मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्ट्स, एन्टार्टिक बिस्कुट प्रा.लि र सोफ्टी कम्पनीमा अवलोकन गरेका छन् ।

मन्त्री श्रेष्ठले उद्योगहरुको अवलोकनका क्रममा उद्यागीहरुलाई परेको समस्या र उद्योग मन्त्रालयले गर्नुपर्ने सहयोगको बिषयमा समेत छलफल गरेका थिए । उक्त क्रममा एन्टार्टिक बिस्कुट प्रा.लि मा ठुलो सिलिन्डरको ग्याँस प्रयोग गर्न नपाएका कारण निकै समस्या भोग्नुपरेको उद्योगीले गुनासो गरेका थिए । उद्योगको संरचना नै ४ सय ५० केजीको ग्याँस प्रयोग गर्न मिल्ने गरी बनाइए पनि मापदण्डका कारण १४.५ केजी कै ग्याँस सिलिण्डर प्रयोग गर्न परेको बताएका थिए ।

उक्त समस्या समाधान गर्नका लागि पहल गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए । उद्योगीहरुको समस्या समाधान गर्दै उद्योगीलाई देशमै टिकाइराख्न प्रदेशको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले सधैँ साथ दिने बताए । औद्योगिक क्षेत्रमा उत्पादन भएका सामाग्रीहरु प्रदेशभित्रै प्रयोग गर्ने वातावरण मिलाइने उनले बताए ।

निरिक्षणका क्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँर, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष लेखराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।