मकवानपुरको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका दुई ठुला विद्यालय एकीकरणको प्रक्रिया अघि बढेको छ ।
शिक्षाको गुणस्तर बढाउन भुटनदेवी र आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयलाई मर्ज गरी मेगा विद्यालय बनाउन लागिएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडालाई शैक्षिक क्षेत्रको हब बनाउने उद्देश्य अनुरुप दुबै विद्यालयको व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक सहितको समुहले मंगलबार नगर प्रमुख मिनाकुमारी लामा समक्ष आवश्यक पत्र पेश गरेका छन् ।
हेटौंडामा बारा, पर्सा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या बर्सेनि बढ्दो अवस्था रहेको अध्यक्ष सिग्देलले बताए । उनका अनुसार दुवै विद्यालय मर्ज गरेपश्चात भुटनदेवी माविको साधन र स्रोत पूर्ण रूपमा सदुपयोग हुने र आधुनिकलाई आवश्यक स्रोतको समेत सहजै पूर्ति हुनेछ ।
हाल आधुनिकमा करिब २ हजार ८०० तथा भुटनदेवीमा २ हजार २०० बालबालिका अध्ययनरत छन् ।