हेटौंडा/ कांग्रेस मकवानपुरको अधिवेशनमा सभापति र मेयरको चुनावलाई जोडेर आफ्नो बारेमा भ्रम सिर्जना भैरहेकोमा नेता पराजुलीले दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस मकवानपुरको सभापति पदका उम्मेदवार आनन्दराम पराजुलीले पार्टीको चुनाव र स्थानीय निर्वाचनको बिषय फरक भएको प्रष्ट्याएका छन् । पार्टीको जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आफ्नो बारेमा गलत प्रचार भएको भन्दै उनले हाल आफू कांग्रेस जिल्ला सभापति पदको उम्मेदवार भएको बताए ।
पार्टीको अधिवेशनमा प्रभाव पर्ने गरी आफू स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार भन्दै हल्ला फैलाइएकोप्रति उनको आपत्ति रहेको छ । यसअघि पार्टीको जिल्ला सचिव र नगर सभापति पदमा रहेर अनुभव बटुलिसकेका उनी हाल कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापति पदमा आफ्नो दावी स्वभाविक रहेको र मेयरको टिकटको लागि आफूले सभापतिमा बार्गेनिङ नगरेको बताउँछन् ।
अघिल्लो चुनावमा पनि पार्टीको तर्फबाट मेयरमा लडिसकेका पराजुलीले राजनीतिमा लागेका जसलेपनि आफूले आफैलाई अघि बढाउँदै लैजाने विषयलाई सामान्य रुपमा लिएका छन ।
‘म निरन्तर पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कार्यकर्ता र जनताको सुखदुःखमा रहँदै आएको छु’, यसअघि भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा करिब ५ सय मतले पराजित भएका पराजुलीले थपे, ‘स्थानीय तहको चुनावमा जनतासँग जो नजिक छ, जसले जित्नसक्छ पार्टीले उसैलाई पठाउला । म अहिले कांग्रेसको जिल्ला सभापति पदको उम्मेदवार हुँ । स्थानीय तहको निर्वाचनको कुरा त्यही बेलामा गरौंला । पराजुलीले भने ।
मकवानपुरलाई कांग्रेसमय बनाउनका लागि पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी भएको उनको भनाई छ ।