मकवानपुर | नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताएकी छन् ।
कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेकी छन् ।
बिहीबार हेटौंडा १६, १७ र १८ नम्बर वडाका गठबन्धन दलको आयोजनामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षासंगै मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको दोहोर्याएकी हुन् ।
‘शान्ति सम्झौतादेखि नै प्रचण्ड र माधवकुमार नेपालसंग गठन्धन हुँदै आएको हो । अहिले केपी ओलीको सर्वसत्तावाद र ज्यादतीका विरुद्ध फेरि हामीले गठबन्धन गरेका हौं’, डिनाले भनिन्, ‘दायाबायाँ नसोची एकढिक्का भएर गठबन्धनलाई जिताउन लाग्नु जरुरी छ । सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न गठबन्धनले साझा उम्मेदवार चयन गरेको छ । हामी १४ मतले माथि छौं, डराउनुपर्ने अवस्था छैन अब आफ्नो मत जोगाउँदै मतान्तर बढाउन लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’
संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्नेहरु प्रतिगामी भएको बताउँदै उनले सत्तारुढ गठबन्धनले प्रतिगामी शक्तिसंग चुनाव लडिरहेको बताइन् । ‘तपाईंको पार्टीको उम्मेदवार छैन भन्दै भ्रम फैलाउन खोजिएको छ, हामी ५ दलको साझा उम्मेदवार हौं, गठबन्धनको इमान्दारिता कायम राख्दै साझा उम्मेदवारलाई जिताउन लाग्नु आवश्यक छ’, उनले थपिन्, ‘आ–आफ्नो गाउँठाउँको मत जोगाउँदै एमाले र राप्रपाको भ्रमलाई चिर्दै वर्तमान सरकार र गठबन्धनले गरेको राम्रो काम जनतालाई जानकारी गराउनुहोला ।’ उनले भनिन् ।
उद्योग कलकारखाना पुनर्जिवित बनाउँदै युवालाई रोजगारीको व्यवस्था गर्ने, हेटौंडालाई व्यवस्थित औद्योगिक नगरी बनाउने तथा शिक्षा, स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासलाई जोड दिने योजना रहेको उनले बताइन्।