मकवानपुर। लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) सदस्यमा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।
कुल ४० हजार ५ सय ९९ मत खसेकामा बानियाँले १८ हजार ७ सय १७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
बानियाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लालबहादुर थापाले १६ हजार ९ सय ३५ मत प्राप्त गरेका छन् ।
२०७४ मा एमाले-माओवादीको बाम गठबन्धनको उम्मेदवार राजाराम स्याङ्तानलाई पराजित गर्दै बानियाँ मकवानपुर-२ (ख) मा विजयी भएका थिए । त्यसपश्चात् उनी कांग्रेसको संसदीय दलको नेता समेत भएका थिए ।
बानियाँले निवार्चन प्रचारप्रसारमा आफु सत्तारूढ गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको दावेदार रहेको बताउँदै आइरहेका छन् ।
यसअघि सत्तारुढ गठबन्धनभित्र लिखित सहमति भएतापनि मुख्यमन्त्री बन्नबाट बञ्चित रहेका बानियाँ यसपटक स्वत: मुख्यमन्त्रीको दावेदार रहेको प्रतिक्रिया दिए ।
‘यसअघि लिखित सहमति भएकै हो । कार्यान्वयन भएन् त्यो कुरो आफ्नो ठाउँमा छ । तर, यसपटक म मुख्यमन्त्रीको लागि स्वत: दावेदार हुँ । सरसरती हेरियो भनेपनि पार्टीको प्रदेश सभापति म, संसदीय दलको नेता पनि मै हुन्छु, त्यसपछि मुख्यमन्त्री पनि हुन्छु ।’ बानियाँले भने ।
को हुन् बागमती प्रदेशको मुख्यमन्त्रीका दावेदार ईन्द्र बानियाँ ?
ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो ।
कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।
त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए । ३५ वर्षअघिदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील बानियाँ पार्टीको जिल्लाको नेतृत्व सम्हाल्दै हाल बागमती प्रदेश सभापति छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बानियाँले त्यतिबेला जित निकाल्न सकेनन् । मुलुक संघीय संरचनामा गइसकेपछि २०७४ सालमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बानियाँ मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भए ।
मकवानपुरको तत्कालीन हर्नामाडी गाविस ४ दियावतीमा २०२७ भदौमा जन्मिएका बानियाँ २०४४ सालमा राजनीतिमा प्रवेश गरेका थिए । उनी २०५१ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रुपमा चुनिएका थिए । २०५२ सालमा नेपाल विद्यार्थी संघको जिल्ला सहसचिवको जिम्मेवारी सम्हालेका उनी २०५५ सालमा तरुण दल जिल्ला सचिव हुँदै २०५६ सालमा तरुण दल मकवानपुरको अध्यक्ष भई राजनीतिक यात्रालाई निरन्तरता दिएका थिए । २०५६ सालमा पार्टीको महासमिति सदस्य भएका बानियाँ २०५८ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य चयन भएका थिए ।
२०७० सालको संविधानसभा सदस्यमा निर्वाचित बानियाँ २०७३ चैत्र १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा पनि निर्वाचित भए । उनी २०७४ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री हुँदै गृह राज्यमन्त्रीसमेत भएका थिए । २०७४ मंसिर २१ गते मकवानपुर संघीय क्षेत्र १ को (ख) बाट प्रत्यक्षतर्फको प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता भई ५ वर्षे कार्यकाल पूरा गरे ।
मकवानपुरमा कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बानियाँ २०७८ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा निर्वाचित भए ।
२०७९ को आम निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर २ (ख) को प्रदेशसभा सदस्यमा पुन: विजयी भएका बानियाँलाई बागमती प्रदेशको भावी मुख्यमन्त्रीको दावेदार मानिएको छ ।