बागमती प्रदेश, युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई हटाउन मंगलबार स्पष्टीकरण सोधेको छ ।
बुधबार परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईले युवा तथा खेलकुद मन्त्रालयले आफूलाई हटाउन चलखेल सुरु गरेको बताएका छन्। डोरमणि पौडेलको सरकारले नियुक्ती गरेका चौलागाईलाई हटाउन राजेन्द्र पाण्डे सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
लामो समयसम्म परिषद बैठकले कार्ययोजना नै स्विकृत नगर्दा परिषदले सोचे अनरुप काम गर्न नसकेको चौलागाईले बताए । २०७८ असोज ६ गते परिषद बैठकबाट योजना स्विकृत भएपछि परिषदले स्विकृत योजना कार्यान्वयन गरेको चौलागाईले बताए । ‘मन्त्रालयले राजनीतिक पूर्वाग्रह नराखी कार्यक्रम प्रभावकारी बनाउन खोजे सहकार्यको लागि म तयार छु’ उपाध्यक्ष चौलागाईले भने । मन्त्रालय र मन्त्रीस्तरको सुझाब कार्यान्वयन गर्न कुनै समस्या छैन, तर राजनीतिक पूर्वाग्रह राखेर स्पष्टीकरण सोध्नु अन्याय भएको उनको तर्क छ । मन्त्रालयले मागेको प्रगति विवरण समयमै बुझाईएको उनले बताए ।
अहिले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेको प्रदेश युवा परिषदले मन्त्रालयसंग समन्वय गरिरहेको छ । परिषदले बनाएका भावी योजनाका सन्दर्भमा मन्त्रालयले सुझाब दिने हो भने पनि ती सुझाब समेट्न सकिने उनले बताए । मन्त्रालय योजना फेर्नु भन्दा कार्यकारी उपाध्यक्ष फेर्ने दाउमा अघि बढेको चौलागाई बताउँछन्। चार वर्षे कार्यकालका लागि २०७८ असार १ गते नियुक्त गरिएको कार्यकारी उपाध्यक्ष हटाएर आफु अनुकुलको कार्यकारी उपाध्यक्ष नियुक्ती गर्ने योजनाका साथ मन्त्रालय र मन्त्री अघि बढेका छन् ।
एकातर्फ काम गर्ने वातावरण नदिने अर्कोतर्फ काम भएन भनेर मन्त्री नै राजनितीक प्रतिशोध साध्न उद्यत देखिएको उनले बताए । परिषदले कार्यक्रम स्विकृत गरेको २ महिना भित्रै प्रदेशको लोगो र स्लोगन सार्वजनिक गरेको छ । युवा परिषदको वेभसाइट निर्माण भएको छ । दुई महिनाभित्र परिषदबाट थुप्रै काम भएको उपाध्यक्ष चौलागाईको दावी छ । बागमती प्रदेश सरकारका आन्तरिक मामीला तथा कानून मन्त्री कृष्ण प्रसाद शर्मा खनालले एक हप्ता भित्रै अघिल्लो सरकारले गरेका नियुक्ती खारेज गर्ने बताए ।